तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका –४ ड्यामस्थित सडक भासिएको स्थानबाट तल दुई वटा शव र एउटा कार भेटिएको छ ।
जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार मृतक दुवैको सनाखत हुन सकेको छैन ।
निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेका थिए । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको बताइएको छ ।
उद्धार टोली घटनास्थलमा पुगिसकेको नेपालले बताए । फेला परेको शव कारमा सवार यात्रुको हो या होइन भन्ने नखुलेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
सडक भासिँदा दुईतर्फी सवारी आवागमनमा अवरुद्ध भएको छ । वैकल्पिक मार्ग नभएकाले दुवैतर्फ सयौँ यात्रु अलपत्र छन् ।