चितवन / पूर्वी चितवनको राप्ती नगरपालिकामा एक युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ९ चौधघरे बस्ने ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताए ।
घलानले राप्ती नगरपालिका-६ आदर्शटोलस्थित माछापोखरीमा रहेको आफू बस्ने घरमा राखेर २७ वर्षीया युवतीलाई दुई महिनादेखि बन्धक बनाएको प्रहरीले जनाएको छ । काठमाडौं बसेर ज्याला मजदुरी गर्दै आइरहेकी पीडित युवती १० चैतमा भाउजूको घर पिप्ले आएकी थिइन् ।
बसबाट राति भण्डारा बजारमा ओर्लिएकी युवतीलाई घलानले पिप्ले धेरै टाढा भएको र अर्को दिन बिहानै पुर्याई दिने भन्दै ललाईफकाई आफ्नो घरमा लगेका थिए । सोही दिन राती घलानले अन्य तीन जनालाई समेत बोलाएर सामूहिक बलात्कार गरेको पीडित युवतीकी भाउजूले दिएको जाहेरीमा उल्लेख छ ।
बन्धक बनाइएकी युवतीको स्वास्थ्यमा समस्या देखिएपछि घलानले स्थानीयको सहयोगमा अस्पताल पुर्याएका थिए । उपचार पश्चात युवतीलाई जेठ २० गते घलानले आफ्नो घरमा ल्याएर छोडेको उनकी भाउजूले बताएकी छन् ।
महिलाले जेठ २४ गते घलानविरुद्ध किटानी जाहेरी दिएपछि जबरजस्ती करणीको मुद्दा दर्ता गरी घलानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।