काठमाडौं / बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराएर हडपेको प्रकरणमा मुछिँदै थुनामा रहेका आरोपी शोभाकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।
मुद्दाको पेसी न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको पूर्ण इजलासमा तोकिएको थियो ।
यसअघि २९ वैशाखमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको थियो । तर, त्यसबेला मुद्दालाई ‘हेर्न नमिल्ने’ सूचीमा राखियो ।
थुनामा रहेका ढकाल ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको नाममा पारेको प्रकरणमा मुछिएका मुख्य आरोपी हुन् । उनी र अर्का आरोपी रामकुमार सुवेदीले मुख्य विचौलियाको भूमिका निभाएको पनि अख्तियारले जनाएको छ ।
अख्तियारले दायर गरेको मुद्दामा ढकालले आफू, श्रीमती र छोरा र छोरीहरूको नाममा समेत बालुवाटारको जग्गा राखेको उल्लेख छ ।