ताप्लेजुङ  / प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथिभरामा दर्शनार्थीको लागि पोर्टेबल शौचालय निर्माण गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार शौचालय नहुँदा ३ हजार ७ सय ९४ मिटर उचाइँमा रहेको पाथीभरा मन्दिर पुग्ने दर्शनार्थीलाई समस्या हुने गरेकाले पोर्टेबल शौचालय स्थापना गरिएको हो । 

OM Sai Pathibhara Hospital

आवश्यकताअनुसार ठाउँ परिवर्तन गर्न सकिने र शौचालय शौच गर्ने ठाउँ मात्रै सफा गर्दा हुने भएकाले यस्तो शौचालयको निर्माण गरिएको काफ्लेले बताए । 

मन्दिर परिसर बाहिर हाल तीन शौचालय निर्माण गरिएको छ  भने माथिल्लो फेदीदेखि मन्दिरसम्मको अढाई किलोमिटरमा ५ वटा शौचालय जडानको काम भइरहेको छ । फाइबरबाट बनेको पोर्टेबल शौचालय एनएमबी बैंकले उपलब्ध गराएको हो ।

जडान खर्च भने काठमाडौं बानेश्वर –१० की रञ्जना पाठकले बेहोरेकी छन् । एउटाको शौचालयको लागत ७५ हजार रुपैयाँसम्म पर्ने अनुमान छ । 

मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरेका अनुसार यसअघि पक्की तथा अस्थायी शौचालय निर्माण गरेको भएपनि पानी नहुँदा फोहोर भएर बन्द गरिएको थियो ।