नवलपरासी / जिल्ला अदालत नवलपरासी परिसरमै गोली प्रहार गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंशराज यादव रहेका छन् ।
सोमबार दिउँसो अदालतमा अंश मुद्दाको विषयमा विवाद हुँदा यादवले आफ्नै काकी रोशनी यादवलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरी भागेका थिए । तर उक्त गोली कसैलाई नलाग्दा मानवीय क्षति भने भएको थिएन ।
प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेलका अनुसार यादवलाई मंगलबार दिउँसो सुनवल गाउँपालिका –९ बनकट्टीस्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।
उनको साथबाट पेस्तोल, म्यागेजिन र एक राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको एसपी कँडेलले बताए ।