विराटनगर / प्रदेश नं १ को प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि २०७९’ स्वीकृत गरेको छ ।
प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो ।
नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद् (बैठक सञ्चालन) कार्यविधि, २०७५ खारेज भएको छ ।
प्रदेश समन्वय परिषद्को बैठक गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि बसेको पहिलो पटक हो भने नियमित बैठकका रुपमा यो चौथो बैठक हो । प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन हुने कानुनी व्यवस्था छ ।
परिषदमा हरेक जिल्लाबाट एक जना हुनेगरि स्थानीय तहका प्रमुख वा उपप्रमुख वा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख मध्येबाट कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्वसहित १४ सदस्य मुख्यमन्त्रीले मनोनित गर्ने कानुनी प्रबन्ध छ । परिषदमा प्रदेशस्थित आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुनमन्त्री पदेन सदस्य रहने प्रावधान छ ।
प्रदेश समन्वय परिषद्मा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, इलामको सूर्योदय नगरपालिकाका प्रमुख रनबहादुर राई, खोटाङको ऐसेंलुखर्क गाउँपालिकाका अध्यक्ष गीरेन्द्र बहादुर राई, भोजपुरको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथकुमार कलुङ राई, ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा, उदयपुरको गढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर, सुनसरीको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता कुमारी चौधरी, धनकुटाको छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङ, पाँचथरको फाल्गुनन्द गाउँपालिकाकी उपाध्यक्ष सविता राई र ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचङवाङ सदस्य मनोनित भएका छन् ।
बैठकमा समन्वय परिषद्का सदस्यहरूले प्रदेश सरकारको आगामी आव २०७९/८० मा प्रस्तुत हुने नीति तथा कार्यक्रमका सम्बन्धमा पनि आफ्नो राय सुझाव दिएका थिए ।