काठमाडौँ / काठमाडौँ महानगरपालिकाको फोहोर फाल्न पुगेका ट्रिपरलाई बन्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ ।
सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमतिअनुसार काठमाडौँबाट फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोकेपछि झडप भएको हो ।
सोमबार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्ने प्रतिवद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहोर विसर्जन गर्न दिने निर्णय गरेको थियो।
त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरी प्रक्रिया सुरु गर्ने, सिफारिसको आधारमा प्रभावित क्षेत्रको स्थायी बासिन्दा लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति पनि भएको थियो । तर, सहमतिअनुसार आज फोहोर बोकेर त्यहाँ पुगेका ट्रकलाई स्थानीयले रोक लगाइ रहेका छन् ।
स्थानीय जनप्रतिनिधि र सरोकार समितिका प्रतिनिधि नराखी गरिएको सहमति आफूहरूलाई मान्य नहुने भन्दै आफूहरूले राख्दै आएको माग पुरा नभएसम्म फोहोर फाल्न नदिने स्थानीयको अडान छ ।