काठमाडौँ / इन्टरनेट सेवा प्रदायक संघले देश भरिका तेह्र स्थानमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुनसक्ने जनाएको छ । निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै देशको केही ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने जानकारी गराएको हो ।
आइस्पानका अनुसार इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, घरान, दुवही, लहान, डोटी, भैरहवा, ताडी, विराटचोक र रगेलि गरी तेह्र स्थानमा जुनसुकै बेला इन्टरनेट काटिने सम्भावना छ । विज्ञप्तिमा भनिएको छ, ‘ब्याकअप सिस्टमले धान्न छोडेपछि यी स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने कुरा ग्राहकहरू र सम्बन्धित सबैलाई दुःखका साथ जानकारी गराउँदैछौं ।
नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशा तर्फ गैरकानुनी ढंगले सेवा प्रदायकको इन्टरनेट प्वाइन्ट डेटा सेन्टर, पिओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको भन्दै आइस्पानले त्यस्ता ठाउँहरूमा इन्टरनेट सेवा बन्दा गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।