काठमाडौँ / नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।
रिक्त रहेको पाँच एआईजी पदमा डीआइजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहकाे बढुवा भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केहिदिन अघि मात्रै गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआइजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
डीआईजीद्वय सुवेदी र बिसि २०७७ बैशाख ७ मा बढुवा भएका थिए भने लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा भएका थिए ।
हालका आईजीपी धिरजप्रताप सिंहसंगै २०४९ चैत ११ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका उनिहरु मध्ये सुवेदी, बिसि र लोहनी काबिल प्रहरी अधिकृतको रुपमा परिचित छन् ।
हाल डीआईजी सुवेदी उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुख, बिसि एक नम्बर प्रदेश प्रहरी प्रमुख, लोहनी गण्डकी प्रदेश प्रहरी प्रमुख, आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको निमित्त कार्यकारी निर्देशक र सिंह बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।
मन्त्रालयको बढुवा समितिले गत ९ जेठमा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको थियाे । साेही अनुरूप उनीहरूकाे बढुवा भएकाे हाे
यसअघि समितिले बसन्त लामालाई एक दिनका लागि एआईजी पदमा बढुवा गरेको थियो । लामा ८ जेठबाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन् ।