काठमाडौँ / गृह मन्त्रालयले बर्दियाको मधुवन नगरपालिका –२ मा सोमबार भएको नबिना थारूको मृत्युको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । 

OM Sai Pathibhara Hospital

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् ।

बर्दियाको मधुवन क्षेत्रमा बाघको आक्रमणबाट निरन्तर मानवीय क्षति भएको तर सरकार वन्यजन्तु पीडितप्रति उदासीन भएको, वनका अधिकारी घटनास्थल नपुगेको भन्दै आक्रोशित सोमबार गुलरिया–राजापुर सडकखण्ड बन्द गरिएको थियो।

स्थानीयले उक्त सडकखण्डमा चक्काजाम गरेपछि सुरक्षाकर्मीसँग झडप भएको थियो । झडप भएपछि प्रहरीले गोली चलाउँदा नविना थारूको मृत्यु भएको थियो । सोही घटनाको छानबिन गर्न गृहमन्त्रीले समिति गठन गरेका हुन् ।