काठमाडौँ / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न सरकारसँग माग गरेको छ ।
लोसपाका अध्यक्ष महन्त ठाकुरको नेतृत्वमा बालुवाटार पुगेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
विगतमा विभिन्न सरकार हुँदा र वर्तमान कांग्रेस नेतृत्वको सरकार गठन हुँदा आफ्नो पार्टीसँग भएका सम्झौता र प्रतिबद्धता पूरा गर्न सरकारलाई आग्रह गरिएको छ ।
प्रधानमन्त्री देउवाले आफ्नो पार्टीले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पूरा नगरेकाले पुनः स्मरण गराउन ११ बुँदे ज्ञापनपत्र बुझाइएको लोसपाले जनाएको छ ।
संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्न ११ बुँदे ज्ञापनपत्रमा उल्लेख छ ।
त्यस्तै मधेस आन्दोलन र थरुहट आन्दोलनलगायत विभिन्न आन्दोलनमा लगाइएका झुटा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरीलगायतका राजबन्दीहरूलाई अविलम्ब रिहाइ गर्ने, नेपालमा विभिन्न उत्पीडित समुदाय मधेसी, थारू, आदिवासी जनजाति, शिल्पी, महिला, मुस्लिमलगायतको सम्मान, पहिचान र अधिकार प्राप्तिका लागि संविधान संशोधन गर्ने, जनसङ्ख्याको आधारमा स्थानीय तह प्रदेशसभा र संघीय संसद्मा प्रतिनिधित्वको व्यवस्था गर्ने माग गरिएको छ ।
प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन लोसपा अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, अनिलकुमार झालगायतका नेता बालुवाटार पुगेका थिए ।