झापा / बर्दियामा मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीय माथि प्रहरीले गोली चलाउँदा एक युवतीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर बर्दियाको मधुवन नगरपालिका -२ स्थित आरोली बजारीकी २० वर्षीया नविना थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदयश सापकोटाले जानकारी दिए ।
बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा बाघ सहित वन्यजन्तुको आक्रमण बढेको भन्दै सोमबार दिउँसो स्थानीयले गुलरिया–राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द गरेका थिए । स्थानीयले अवरुद्ध गरेको सडक खुलाउन परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय माथि बल प्रयाग गर्दा घटना भएको हो । सडकमा उत्रिएका स्थानीयले ढुंगामुढा प्रहार गरेपछि १८ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हवल्दार पार्वता खड्काको अवस्था गम्भीर छ । उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदयश सापकोटाले जानकारी दिए । मधुवन २ का वडाध्यक्ष आशाराम चौधरीका अनुसार १४ दिनमा दुई जनामाथि बाघले आक्रमण गरिसकेको छ ।