झापा / सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ ।  

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि लागू हुने गरी यसअघि दिइएको आइतबारको बिदा नदिने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

यससँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएको छ भने आइतबार सार्वजनिक बिदा दिइने छैन ।

२६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै १ जेठदेखि लागू हुने गरी हप्तामा दुई दिन (शनिबारआइतबार) बिदा दिने निर्णय गरेको थियो । 

तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै सरकारको आलोचना भइरहेको थियो । त्यस्तै संघीय सरकारले भने उक्त निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए ।

यसैबीच हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको छ । अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोक बहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा २ दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समयसमेत बढाएको थियो । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको थियो ।