झापा / निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने भएको छ ।
स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो ।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै १ असारबाट मतदाता नामावली दर्ता खुला गर्ने तयारी गरेको बताइएको छ । जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्ने गरी तयारी गरेको आयोगले जनाएको छ ।
आयोगले ७७ वटै जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालयबाट योग्यता पुगेका नेपाली नागरिकले नामावलीमा नाम दर्ता गर्नसक्ने गरी दर्ता खुला गर्ने तयारी गरेको छ ।
त्यसका लागि आफ्नो नागरिकता लिएर जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने छ । यसअघि आयोगले जिल्ला प्रशासन कार्यालयबाट र तोकिएका इलाका प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता गर्दै आएकोमा सो बारेमा भने कसरी जाने निर्णय गरिसकेको छैन ।
आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ ।
जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।
आयोगले २९ वैशाख २०७९ सम्म १८ वर्ष उमेर पुगेका मतदातालाई स्थानीय तह निर्वाचनमा मतदान गर्न योग्य मानेको थियो ।