प्रधानले चिनजानका भरमा बिना कागजात तीन वर्षअघि झापा सुरुंगा –५ का प्रदीप पौडेललाई पैसा बुझाएका थिए । विदेश पठाउन भन्दै पौडेलले युवाहरूबाट १ लाख ५० हजारदेखि ३ लाख ५० हजारसम्म उठाएर फरार भएको उनको दाबी छ । छोरालाई युरोपमा राम्रो काम लगाउने आश्वासन पाएपछि प्रधानले धेरै हातहातै र केही मनी ट्रान्सफरबाट पठाए । मेचीनगर–६ का प्रदीप भण्डारीले पनि आफूबाट पौडेलले ३ लाख ५० हजार रुपैयाँ लगेको बताए। हंगेरीको छाला कम्पनीमा राम्रो काम लगाउने भन्दै १ लाख ५० हजार लिएको इलाम माइजोगमाई– ३ नाम्सालिङका नवीनकुमार श्रेष्ठले गुनासो गरे। ‘युरोपमा नपढेका मान्छेलाई पनि काम मिल्ने भन्दै रकम लगेका हुन्,’ श्रेष्ठले भने, ‘३६ प्रतिशत ब्याजमा ऋण लिएर रकम बुझाएँ। त्यही रकम तिर्न गाउँमा मजदुरी गरिरहेको छु।’
सूर्योदय–१० रमितेका रामहरि प्रधानले पनि छोरालाई युरोपको राम्रो कम्पनीमा काम लगाउने आश्वासन पाएपछि १ लाख ५० हजार बुझाएको बताए। ‘मासिक १ लाख ५० हजार तलब दिने कम्पनीमा पठाउँछु भनेपछि विश्वास गरेर पैसा बुझायौं,’ उनले भने । रकम लिएपछि पौडेलले तीन महिनामा काम नभए रकम झिक्नु भन्दै नलेखिएको चेक थमाएका थिए । ‘मेरो मेनपावर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको बताउने गरेको थियो,’ रामहरि भन्छन्, ‘ठगले युवाहरूको राहदानीसमेत आफ्नै कब्जामा राखेको छ।’
प्रमाणसहित प्रहरीमा उजुरी दिएर अनुसन्धानमा सहयोग गर्न इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले अनुरोध गरे। वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले पनि आफूसँग भएका प्रमाणसहित पीडितले प्रहरीमार्फत कानुनी प्रक्रिया गर्नुपर्ने बताए। ‘त्यसपछि विभागले पनि सहयोग गर्छ,’ उनले भने।