काठमाडौं / नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार तथा ओसारपसारसम्बन्धी नयाँ व्यवस्था लागू गर्दै भारतीय २ सय र ५ सय रुपैयाँका नोट नेपालमा प्रयोग गर्न खुला गरेको छ।

राष्ट्र बैंकका अनुसार सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय २ सय र ५ सय रुपैयाँका नोट मात्रै नेपालमा वैधानिक रूपमा प्रयोग गर्न पाइनेछ। सो मितिभन्दा अघि जारी भएका त्यस्ता नोट भने अझै प्रतिबन्धित रहनेछन्।

नयाँ व्यवस्थाअनुसार नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म ल्याउन, लैजान र सटही गर्न सक्नेछन्। तोकिएको सीमाभन्दा बढी रकम भए भन्सारमा अनिवार्य घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, भारतीय रुपैयाँ भारतबाहेक अन्य कुनै देशमा लैजान वा त्यहाँबाट नेपाल ल्याउन भने नेपाली नागरिकलाई अनुमति नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

नयाँ व्यवस्थाले नेपाल–भारतबीचको सीमापार कारोबार र यात्रामा सहजता आउने अपेक्षा गरिएको छ।