काठमाडौं । कृषिप्रधान देश भनेर चिनिने नेपालमा धान उत्पादन हुने जमिन वर्षेनी घट्दै जाँदा विदेशी चामलप्रतिको निर्भरता भने झन् बढ्दै गएको छ। भर्खरै सकिएको आर्थिक वर्ष २०८२र८३ मा मात्रै नेपालले धान र चामल किन्न करिब ३९ अर्ब ९० करोड रुपैयाँ विदेश पठाएको छ। स्वदेशमै उत्पादन बढाउन नसक्दा खेतबारी बाँझिने र बजार विदेशी चामलले भरिने अवस्था झन् गहिरिँदै गएको देखिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालले ७ लाख ४१ हजार ७०३ टन धान तथा चामल आयात गरेको छ। समग्र आयातमा अघिल्लो वर्षको तुलनामा सामान्य कमी आए पनि तयारी चामलको आयात भने उल्टै बढेको छ।तथ्यांकले कच्चा धानको आयात घटेको तर बजारमा सिधै उपभोग हुने तयारी चामलको माग बढ्दै गएको देखाएको छ। गत वर्ष मात्रै २० अर्ब ७५ करोड रुपैयाँभन्दा बढी खर्चेर तयारी चामल आयात गरिएको छ।
नेपालको धान तथा चामल आयातमा भारतको लगभग पूर्ण वर्चस्व देखिएको छ। कुल आयातको ९९ प्रतिशतभन्दा बढी हिस्सा भारतबाटै भित्रिएको छ भने अन्य मुलुकबाट आएको परिमाण नगण्य रहेको तथ्यांकले देखाउँछ।
कृषि उत्पादन बढाउने नीति र आत्मनिर्भर बन्ने सरकारी प्रतिबद्धताबीच पनि खाद्यान्नमै विदेशी बजारमाथिको निर्भरता कायम रहनुले कृषि क्षेत्रको चुनौती अझ स्पष्ट बनाएको छ। विशेषज्ञहरू उत्पादन वृद्धि, खेतीयोग्य जमिन संरक्षण र किसानमैत्री नीति प्रभावकारी रूपमा लागू नगरेसम्म खाद्यान्न आयातको यो चक्र तोड्न कठिन हुने बताउँछन्।





































