काठमाडौं । डिजिटल प्रविधिको प्रयोग बढेसँगै काठमाडौंमा साइबर अपराध पनि तीव्र रूपमा बढेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा साइबर ठगीका २ हजार ३ सय २५ वटा घटना दर्ता भएका छन्। अर्थात्, औसतमा हरेक दिन ६ जनाभन्दा बढी नागरिक साइबर अपराधको सिकार बनेका छन्।
प्रहरीका अनुसार साउन २०८२ देखि असार मसान्त २०८३ सम्म विद्युतीय माध्यमबाट १५ करोड ३३ लाख ९४ हजार रुपैयाँ ठगी भएको छ। पछिल्लो समय ठगहरूले बैंक कर्मचारी बनेर फोन गर्ने, दोब्बर नाफाको प्रलोभन देखाउने, सामाजिक सञ्जाल ह्याक गरी आफन्तकै नाममा रकम माग्ने तथा नक्कली वेबसाइट र लिंकमार्फत बैंक विवरण र ओटीपी चोरी गर्ने जस्ता नयाँ तरिका अपनाइरहेका छन्।
एकपटक ओटीपी, पिन वा बैंक खातासम्बन्धी विवरण अपराधीको हातमा पुगेपछि केही मिनेटमै बैंक खाताबाट रकम गायब हुने अवस्था सिर्जना भइरहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले साइबर अपराध अहिले सबैभन्दा चुनौतीपूर्ण अपराधका रूपमा विकसित भइरहेको बताउँदै डिजिटल कारोबारसँगै नागरिकको सतर्कता पनि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
विशेषज्ञहरूका अनुसार डिजिटल नेपाल बनाउने अभियानसँगै साइबर सुरक्षामा पर्याप्त लगानी, कडा कानुनी व्यवस्था र जनचेतना अभिवृद्धि नगरे साइबर अपराध अझ बढ्ने जोखिम छ।
प्रहरीले अपरिचित फोन, शंकास्पद लिंक, ओटीपी, पिन नम्बर वा बैंक विवरण कसैलाई पनि नदिन तथा कुनै पनि शंकास्पद गतिविधि देखिए तुरुन्त प्रहरीको साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।






































