काठमाडौं । सेवाग्राहीको काम गरिदिने नाममा घुस मागेको आरोपमा काठमाडौं महानगरपालिकाका एक लेखा अधिकृत अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्वब भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।
अख्तियारका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराइदिने प्रक्रियामा अनावश्यक दुःख–हैरानी दिँदै सेवाग्राहीसँग रकम मागिएको उजुरी परेको थियो। उक्त सूचनाका आधारमा परिचालित अख्तियारको टोलीले सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस बुझिसकेको अवस्थामा भट्टराईलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। सार्वजनिक सेवामा घुसखोरी रोक्न विशेष निगरानी जारी रहेको आयोगको भनाइ छ।





































