काठमाडौं । नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान बनाएको छ। गत आर्थिक वर्ष २०८२÷८३ मा कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। तर यो उपलब्धिसँगै अर्को चिन्ताजनक तथ्य पनि सार्वजनिक भएको छ—देशको व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। अर्थात् नेपालले विदेशबाट किन्ने वस्तु अत्यधिक बढिरहँदा बेच्ने क्षमता अझै कमजोर नै देखिएको छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले २० खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात गर्दा ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात गर्न सफल भएको छ। निर्यातमा वृद्धि भए पनि आयातको तुलनामा त्यो निकै न्यून रहेको तथ्यांकले देखाउँछ।
नेपालको निर्यातमा सबैभन्दा ठूलो योगदान सोयाबिन तेलको छ, जसबाट मात्रै १ खर्ब २८ अर्ब रुपैयाँ आम्दानी भएको छ। त्यसपछि अलैँची प्रमुख निर्यात वस्तु बनेको छ। तर आयाततर्फ भने डिजेल, पेट्रोल, एलपी ग्यास र कच्चा सोयाबिन तेलमा मात्रै अर्बौं रुपैयाँ विदेशिएको छ।
तथ्यांकले नेपाल अझै भारत र चीनमाथि अत्यधिक निर्भर रहेको देखाउँछ। भारतबाट १२ खर्बभन्दा बढी र चीनबाट ४ खर्ब २५ अर्ब रुपैयाँ बराबरका वस्तु आयात भएका छन्।
व्यापारको आकार बढे पनि निर्यातको हिस्सा १३ प्रतिशत वरिपरि मात्रै सीमित रहनु र व्यापार घाटा निरन्तर फराकिलो बन्दै जानुले उत्पादन, औद्योगिकीकरण र निर्यात क्षमता विस्तारमा अझै ठूलो चुनौती रहेको संकेत गरेको छ।





































