काठमाडौं । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक संकटको जिम्मेवारीबाट आफूहरू उम्किन नसक्ने स्वीकार गर्दै वाम आन्दोलन र आफ्नै भूमिकामाथि गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको परिस्थिति सिर्जना हुनुमा ूहामीले पनि कहीँ न कहीँ ठूलो त्रुटि गरेका छौूँ भन्दै पहिलोपटक आत्मआलोचनात्मक अभिव्यक्ति दिएका हुन्।

उनले भदौ २३–२४ का घटनापछि नेपाल सुगौली सन्धिपछिकै सबैभन्दा कठिन मोडमा पुगेको दाबी गर्दै राष्ट्रिय स्वाधीनतामाथि दबाब, विदेशी हस्तक्षेप र प्रतिगामी शक्तिको सक्रियता बढेको बताए। तर त्यसको दोष बाह्य शक्तिलाई मात्रै दिएर नपुग्ने भन्दै आफ्नै कमजोरीको पनि निष्पक्ष समीक्षा गर्नुपर्नेमा जोड दिए।

प्रचण्डका अनुसार पार्टी कार्यालय र ऐतिहासिक सम्पदामाथि भएका आक्रमणजस्ता घटनाले राज्य संयन्त्रको कमजोरी मात्र होइन, राजनीतिक नेतृत्वका निर्णय र रणनीतिमाथि पनि प्रश्न उठाएका छन्। त्यसैले सामान्य समीक्षा होइन, वैज्ञानिक र गहिरो आत्ममूल्यांकन आवश्यक रहेको उनको भनाइ छ।

उनले वर्तमान संकट समाधानका लागि पुराना जडसूत्रवादी सोचबाट बाहिर निस्कनुपर्ने बताउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर नयाँ राजनीतिक दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रचण्डको यो अभिव्यक्तिलाई पछिल्लो राजनीतिक घटनाक्रमबीच आफ्नै नेतृत्वको भूमिका स्वीकार गर्दै वाम आन्दोलनको नयाँ समीक्षातर्फ संकेतका रूपमा समेत हेरिएको छ।