काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रमप्रति आगन्तुकको आकर्षण बढेको छ।
एक्स्पोमा सवारीसाधन अवलोकन तथा खरिदका लागि पुगेका सर्वसाधारणलाई ट्राफिक नियम, सडक सुरक्षा र सुरक्षित सवारी सञ्चालनबारे जानकारी दिने उद्देश्यले सचेतना स्टल सञ्चालन गरिएको हो। ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्रबहादुर मल्लका अनुसार स्टलमा ट्राफिक नियम, सडक संकेत, सडक रेखा तथा सवारी सञ्चालनका क्रममा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको छ। ट्राफिक प्रहरीले प्रयोग गर्ने विभिन्न सामग्रीसमेत स्टलमा प्रदर्शन गरिएको छ। कार्यक्रमको मुख्य आकर्षण भने सडक दुर्घटनाका वास्तविक दृश्य समेटिएका भिडियो बनेका छन्।
सीसीटीभीबाट प्राप्त फुटेजमार्फत तीव्र गति, चालकको लापरबाही, गलत मोड तथा ट्राफिक नियम उल्लंघनका कारण हुने दुर्घटनाबारे आगन्तुकलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।प्रहरीले शाखा सडकबाट मुख्य सडकमा प्रवेश गर्दा ‘रोक, हेर र जाऊ’, गति नियन्त्रण, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने तथा जथाभावी यू–टर्न र राइट टर्न नगर्नेलगायत विषयमा विशेष सचेत गराएको छ।स्टलमा सर्वसाधारणले ट्राफिक व्यवस्थापनसम्बन्धी जिज्ञासा तथा गुनासासमेत राख्ने गरेका छन्। प्राप्त गुनासा सम्बन्धित ट्राफिक युनिटमा पठाउने गरिएको मल्लले बताए।
प्रहरीका अनुसार एक्स्पोको पहिलो दिन करिब २ हजार, दोस्रो दिन २ हजार ५ सय र तेस्रो दिन करिब ४ देखि ५ हजार जनाले सचेतना स्टल अवलोकन गरेका थिए। मल्लले दुर्घटनाका वास्तविक दृश्य समेटिएका भिडियो हेर्न आगन्तुकको उल्लेख्य भीड लागेको बताए। उनका अनुसार स्टलमार्फत धेरैभन्दा धेरै सवारी प्रयोगकर्तालाई ट्राफिक नियम र सडक सुरक्षाबारे सचेत गराउने उद्देश्य राखिएको छ।प्रहरीले प्रत्येक व्यक्तिले स्वयं ट्राफिक नियम पालना गर्नुका साथै परिवार तथा साथीभाइलाई समेत सुरक्षित सवारी सञ्चालनका लागि प्रेरित गरे दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने जनाएको छ।






































