पोखरा / प्रहरीले पोखराका विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा ठूलो परिमाणमा लागूऔषध बरामद गर्नुका साथै कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क क्षेत्रमा चेकजाँच गर्ने क्रममा धनकुटाका २३ वर्षीय मनोज लिम्बूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट डाइजापाम २१ एम्पुल, फेनारगन २० एम्पुल र नुफिन २० एम्पुल गरी ६१ एम्पुल लागूऔषध बरामद भएको छ। साथै उनको साथबाट मोबाइल एक थान र नगद २१ हजार रुपैयाँसमेत फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी पोखरा–९ नागढुंगा क्षेत्रमा लागूऔषध बिक्री भइरहेको सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले पर्वतका २२ वर्षीय मोहम्मद इशाक सरिफलाई पक्राउ गरेको छ।

सरिफको साथबाट ५ किलो गाँजा, ट्रामाडोल हाइड्रोक्लोराइड ७९० चक्की र टापेन्टाडोल ३६६ चक्की बरामद भएको प्रहरीले जनाएको छ। उनको साथबाट दुई थान मोबाइल र डिजिटल तराजुसमेत बरामद गरिएको छ। अनुसन्धानका क्रममा सरिफले पोखरा–१४ युनिटोलमा बस्ने २६ वर्षीय आविष्कार सारूबाट लागूऔषध खरिद गरेको खुलेपछि प्रहरीले सारूको कोठामा समेत खानतलासी गरेको थियो। त्यहाँबाट थप ९ हजार टापेन्टाडोल चक्की बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

यस घटनाले पोखरामा लागूऔषधको कारोबारमा प्रयोग भइरहेको सम्भावित आपूर्ति सञ्जालबारे समेत अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये मनोज लिम्बूलाई ७ दिन तथा मोहम्मद इशाक सरिफ र आविष्कार सारूलाई ८ दिनको म्याद थप गरी कास्की जिल्ला अदालतबाट अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा क्षेत्रमा लागूऔषधको ओसारपसार तथा बिक्री–वितरण नियन्त्रण गर्न निगरानी र अनुसन्धानलाई थप तीव्र बनाइएको छ।