काठमाडौं / भारतीय सामाजिक अभियन्ता सोनम वाङ्चुकले २६ दिनदेखि जारी आमरण अनसन अन्त्य गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत उनले केन्द्रीय मन्त्री  जे.पी. नड्डा, डा. जितेन्द्र सिंहलगायत वरिष्ठ नेताहरूको उपस्थितिमा अनसन तोडिएको जानकारी दिएका हुन्। वाङ्चुकका अनुसार विभिन्न राजनीतिक दलका ६५ सांसदले पत्र लेखेर अनसन अन्त्य गर्न आग्रह गरेका थिए। त्यसपछि भएको छलफल, केही सहमति र देशमा सम्भावित हिंसाको जोखिमलाई मध्यनजर गर्दै अनसन अन्त्य गर्ने निर्णय लिइएको उनले बताएका छन्।

उनले सहमतिका सबै बुँदाबारे चाँडै भिडियो सन्देशमार्फत सार्वजनिक गर्ने जानकारी दिएका छन्। साथै समर्थकहरूलाई शान्तिपूर्ण रूपमा आन्दोलन गर्न र कुनै पनि प्रकारको हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्। परीक्षामा प्रश्नपत्र चुहावट भएको आरोपमा नयाँदिल्लीको जन्तर–मन्तरमा एक महिनादेखि आन्दोलनरत विद्यार्थीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन्।

वाङ्चुकले उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आमरण अनसन सुरु गरेका थिए।