मोटरसाइकलमा स्टन्ट गर्ने सांसदलाई उन्मुक्ति, चालकमाथि मात्रै कारबाही
काठमाडौं । सिरहाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता ट्राफिक नियम उल्लंघन गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले कारबाही गरेको छ। तर कारबाही भने भिडियोमा जोखिमपूर्ण गतिविधि गर्ने सांसदमाथि नभई मोटरसाइकल चालकलाई मात्रै गरिएको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर सांसद गुप्ताले भिडियो बनाएको देखिन्छ। उक्त घटनालाई लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले मोटरसाइकल चालक पिताम्बर चौधरीलाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार ५०० रुपैयाँ जरिवाना गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार विद्यमान कानुनमा ट्राफिक नियम उल्लंघन गरेको यात्रुलाई जरिवाना गर्ने व्यवस्था छैन। त्यसैले सवारी साधन चलाउने चालकलाई मात्रै कानुनी कारबाही गरिएको हो।
यता सांसद गुप्ताले भने आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्। तर कानुनी व्यवस्था यात्रुमाथि लागू नहुने भएकाले उनी कुनै जरिवाना वा अन्य कारबाहीबिना मुक्त भएका छन्।
पूर्वमन्त्रीसमेत रहेका गुप्ता सिरहा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। घटनापछि ट्राफिक नियम उल्लंघनमा चालक मात्रै होइन, जोखिमपूर्ण व्यवहार गर्ने यात्रुमाथि पनि कानुनी व्यवस्था हुनुपर्ने बहस पुनः चर्किएको छ।