काठमाडौं । देशको स्वास्थ्य प्रणालीका सबैभन्दा संवेदनशील निकायहरू अहिले स्थायी नेतृत्वविहीन अवस्थामा सञ्चालन भइरहेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समयमै नियुक्ति प्रक्रिया टुंग्याउन नसक्दा विभाग, अस्पताल, परिषद् र बोर्डहरू ‘निमित्त’ प्रमुखको भरमा चलिरहेका हुन्।
स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, औषधि व्यवस्था विभाग, नेपाल मेडिकल काउन्सिल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, स्वास्थ्य बीमा बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, फार्मेसी परिषद्, स्वास्थ्य व्यवसायी परिषद्, आयुर्वेद परिषद्लगायत एक दर्जनभन्दा बढी संस्थामा या त प्रमुख पद रिक्त छ, या निमित्त जिम्मेवारीबाट सञ्चालन भइरहेको छ।
यसले दैनिक प्रशासन चलाए पनि दीर्घकालीन नीति, रणनीतिक निर्णय, कर्मचारी व्यवस्थापन, सेवा विस्तार र नियमनका महत्त्वपूर्ण कामहरू प्रभावित भएको स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ। विशेषगरी औषधि नियमन, अस्पताल व्यवस्थापन, स्वास्थ्य अनुसन्धान र बीमा प्रणालीजस्ता संवेदनशील क्षेत्र स्थायी नेतृत्व नहुँदा प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनीहरूको तर्क छ।यता मन्त्रालयले विभिन्न पदका लागि आवेदन संकलन र छनोट प्रक्रिया सुरु गरेको भए पनि धेरै निकायमा अन्तर्वार्तासमेत टुंगिएको छैन। यसले नियुक्ति प्रक्रिया अझै अनिश्चित बनेको छ।
स्वास्थ्य मन्त्रालयले भने क्रमशः सबै रिक्त पदमा पदाधिकारी नियुक्त गरिने जनाएको छ। तर, नियुक्तिमा भएको निरन्तर ढिलाइले स्वास्थ्य प्रशासनको नेतृत्व नै कमजोर बन्दै गएको भन्दै सरोकारवालाले तत्काल निर्णय लिन सरकारमाथि दबाब बढाएका छन्।






































