काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह गरेका मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डलका परिवारलाई जनही एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
कांग्रेसका अनुसार शोकाकुल परिवारलाई राहतस्वरूप सभापति थापाको तर्फबाट उक्त सहयोग उपलब्ध गराइएको हो। साथै, विवेक मण्डलका सन्तानको शिक्षा–दीक्षाको व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा भोलिपल्ट उनको निधन भएको थियो।
त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले असार २६ गते आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका थिए। उनको पनि उपचारकै क्रममा मृत्यु भएको थियो। दुवै घटनापछि पीडित परिवारलाई राहतस्वरूप आर्थिक सहयोग गरिएको कांग्रेसले जनाएको छ।






































