काठमाडौं / नेपाल प्रहरीले भारतबाट महँगो रक्सी अवैध रुपमा तस्करी गरेर काठमाडौंमा बिक्री वितरण गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ ।

पर्साको गादी घर भई हाल बुढानीलकण्ठ एरियामा बस्दै आएका सन्तोष चन्द्र बख्रेल लगायतका व्यक्तिलाई अवैध मदिरा कारोबारको आरोपमा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो ।

OM Sai Pathibhara Hospital

नियन्त्रणमा लिइसकेपछि अनुसन्धानका क्रममा एक महिनामै करोडौँको मदिरा अवैध रूपमा भारतबाट ल्याएर काठमाडौंमा कारोबार गर्ने गरेको पाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

प्रहरीले बख्रेलसँगै कागेश्वरी मनहरा नगरपालिका –६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुरमा घर भइ अहिले हाँडीगाउँमा बस्दै आएका २८ वर्षीय रविन पाख्रिन र सर्लाहीको वरहथवा –९ घर भई हाल चाबहिल बस्दै आएका ३८ वर्षीय नारायणप्रसाद घिमिरेलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले चलाएको अप्रेसन लिमा अन्तर्गत उनीहरूले भारतबाट रेड लेवल, ब्ल्याक लेवल, एब्सुलेट भोड्काचिभास रिगल लगायतका रक्सी भारतबाट तस्करी गरेर काठमाडौंमा कारोबार गर्ने गरेको पाइएको छ ।

यस्तै, उनीहरूले उक्त महंगो रक्सीलाई काठमाडौंमा ड्युटी फ्रिको हो भन्दै बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । नियन्त्रणमा लिइएका चारै जनाको साथबाट करोडौं मूल्यको रक्सी पनि बरामद गरिएको छ ।

थप अनुसन्धानका लागि प्रहरीले आज पक्राउ परेकालाई राजस्व अनुसन्धान विभाग हरिहरपुभवनमा पठाइएको छ । मदिरालाई भने गुणस्तर परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले रवि भन्ने एक भारतीय नागरिक र सन्तोष बख्रेलको योजनामा भारतबाट राजस्व छली गरेर रक्सी काठमाडौंसम्म ल्याउने गरेको पनि पाइएको छ ।

तीन महिनाअघि नै बख्रेलले पहिलोपटक १६० कार्टुन, दोस्रोपटक २०० कार्टुन र तेस्रोपटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगलएब्सुलेट भोड्का नेपाल ल्याइ बिक्री गरिसकेको पाइएको छ

अनुसन्धानका क्रममा सन्तोष चन्द्र बख्रेलले बजारमा बिक्री वितरणका लागि ईन्फिनिटी लिक्योर, मूलपानीका सञ्चालक शैलेश पन्तसँग मिलेर काम गर्ने गरेको भेटिएको छ ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा करोड बढी मूल्यको मदिरा पनि नियन्त्रणमा लिएको छ । करिब एक करोड ५० लाख मूल्य बराबरको २१६ कार्टुन मदिरा बरामद गरेको महानगरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।