चितवन / डेढ वर्षअघि माछा मार्न जाँदा साथीको हत्या गरेको अभियोगमा चितवन जिल्ला अदालतले एकै टोलका ६ युवालाई जन्मकैदको फैसला सुनाएको छ ।

२०७७ सालको वैशाख २ गते रत्ननगर ७ मालपुर बस्ने लालबहादुर राउतको हत्या गरेको अभियोगमा सोही टोलका ६ जनालाई जन्मकैदको सजाय सुनाइएको हो ।

OM Sai Pathibhara Hospital

न्यायाधीश हेमन्त रावलको इजलासले ३५ वर्षीय रामशरण महतो, २२ वर्षीय मनिष कुमाल, २७ वर्षीय बिनोद चौधरी नामले चिनिने रूदल बैठा धोबी, ४० वर्षीय सुरेन्द्र राउत, ३६ वर्षीय सिताराम महतो नामले चिनिने शिवास्त चौधरी र ३४ वर्षीय बज्र किशोर दिशवा खवासलाई जन्मकैद हुने फैसला गरेको हो । उनीहरु सबै पूर्पक्षका लागि कारागारमा थिए ।

बारा जिल्लाको गढीमाई गाउँपालिका ६ घर भएको लालबहादुरको परिवार अस्थायी रुपमा रत्ननगर ७ मालपुरमा बस्दै आएको थियो । २०७७ वैशाख २ गते उनी गाउँका ६ जना युवासँगै माछा मार्न निस्काएका थिए । घरबाट साइकल लिएर गएका उनी भोलिपल्ट सम्म पनि नआएपछि खोजी गर्दा ४ गते मृत भेटिए । 

सँगै गएका अन्यले सुरुमा लालबहादुर आफूहरूसँग नगएको बयान दिएका थिए । तर स्थानीय प्रत्यक्षदर्शीले सबै जनालाई सँगै नदीतिर गएको देखेको बयान दिएपछि उनीहरु शङ्काको घेरामा परेका थिए । 

पछि उनीहरूले सँगै गएको स्वीकार गरे तर, लालबहादुरको गोहीको आक्रमणबाट मृत्यु भएको दाबी गरे । पोस्टमार्टमको रिपोर्टमा भने मृत्युको कारण गोहीको आक्रमण देखिएन । चोटपटकका कारण लालबहादुरको मृत्यु भएको देखियो । पोस्टमार्टम रिपोर्टपछि उनीहरु थप शंकाको घेरामा परे । त्यसपछि प्रहरीले मनशायपूर्वक हत्या भनेर मुद्दा अघि बढाएको थियो । मृतकका छोरा सन्दिपले वैशाख ४ गते नै प्रहरीमा जाहेरी दिएका थिए ।

मुद्दा चलाइएको डेढ वर्षपछि जिल्ला अदालतले यस घटनाको किनारा लगाएको हो ।

अदालतले जन्मकैद सहित प्रत्येकबाट २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने र २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको छ ।