जाजरकोट। जाजरकोटमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरकोटको कल्सेनी आसपासलाई केन्द्रविन्दु बनाएर ४।१ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्प विज्ञ राजेश शर्माका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको छ। भूकम्पको धक्का जाजरकोट आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ।
भूकम्पपछि कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षति पुगेको विवरण भने तत्काल प्राप्त भएको छैन। पछिल्लो समय पश्चिम नेपालका विभिन्न जिल्लामा पटक–पटक भूकम्पका धक्का महसुस भइरहेका बेला जाजरकोटमा पनि भूकम्प गएको हो।






































