काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु हुन नपाउँदै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठे । सभामुख डोलप्रसाद अर्यालले बैठक अघि बढाउने तयारी गरिरहँदा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सामूहिक रूपमा उठेर विरोध जनाए ।
विपक्षीहरूको यो विरोध नयाँ विषयमा भने होइन । प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधि सभामा दिएको भारतसम्बन्धी अभिव्यक्तिलाई लिएर उनीहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन् ।
प्रधानमन्त्री शाहले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसको स्पष्ट जवाफ दिनुपर्ने माग राखेका छन् । उनीहरूको अर्को माग उक्त विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने रहेको छ ।
तर, लामो समयदेखि उठ्दै आएको यो विषयमा अहिलेसम्म न प्रधानमन्त्री शाहले संसद्मा उपस्थित भएर स्पष्टीकरण दिएका छन्, न सभामुख अर्यालले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउने विषयमा निर्णय अघि बढाएका छन् ।
त्यसकै असन्तुष्टिका कारण बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले फेरि उठेर विरोध जनाएका हुन् ।सरकार र विपक्षीबीचको यही विवादका कारण प्रतिनिधि सभाको बैठकमा भारतसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति अझै प्रमुख राजनीतिक मुद्दा बनेको छ । विपक्षी दलहरू आफ्नो मागबाट पछि नहटेको संकेत आजको बैठकमा पनि देखिएको छ ।
अब प्रधानमन्त्रीले संसद्मा स्पष्टीकरण दिने वा विवादित अभिव्यक्ति रेकर्डबाट हटाउने विषयमा सभामुखले कुनै पहल गर्ने÷नगर्ने कुराले सदनको आगामी वातावरण निर्धारण गर्ने देखिन्छ ।






































