काठमाडौं / प्रहरीले झापा, कैलाली र मोरङका विभिन्न स्थानबाट ८ ग्रामभन्दा बढी ब्राउन सुगर जस्तो देखिने लागूऔषध बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार झापा गाउँपालिका–५ खाताबस्तीबाट २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई सोमबार बिहान पक्राउ गरिएको हो। पक्राउ पर्नेमा झापा गाउँपालिका–२ निवासी २६ वर्षीय भुपेन्द्र सिंह राजवंशी र बिर्तामोड नगरपालिका–४ निवासी ३१ वर्षीय धिरज गुरुङ रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ३७३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। यस्तै, कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरबाट ५ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित १९ वर्षीय दिनेश बडुवाल पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको टोलीले सोमबार बिहान उनलाई पक्राउ गरेको हो।
त्यसैगरी, मोरङको रंगेली नगरपालिका–७ बकराहा पुल क्षेत्रमा प्रदेश १.०२.००४ ह ६७७० नम्बरको सिटी सफारी जाँच गर्ने क्रममा ६२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित ३० वर्षीय सुनिल कुमार मण्डल पक्राउ परेका छन्। तीन जिल्लाबाट बरामद भएको लागूऔषधको कुल परिमाण ८ ग्राम ५२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






































