काठमाडौं । नेपाली क्रिकेटमा फेरि ठूलो परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय टोलीको कप्तानी सन्दीप लामिछानेलाई सुम्पिएसँगै राष्ट्रिय टोलीको संरचनामै व्यापक फेरबदल गरेको छ । करिब चार वर्षपछि सन्दीप कप्तानका रूपमा फर्किएका हुन् ।
यसअघि कप्तानी सम्हालिरहेका रोहित पौडेल कप्तानीबाट हटे पनि टोलीमै छन् । क्यानले रोहितको नेतृत्वमा नेपालले हासिल गरेका उपलब्धिको प्रशंसा गर्दै उनलाई ‘एकपटकको नेता, सधैंको नेता’ भन्दै धन्यवाद दिएको छ ।
कप्तानी परिवर्तनसँगै टोलीमा केही ठूला नाम पनि बाहिरिएका छन् । कुशल भुर्तेल र सोमपाल कामी प्रिमियर कपको टोलीमा अटाएका छैनन् । आरिफ शेख र भीम सार्की पनि टोलीबाट बाहिरिएका छन् ।
यता देव खनाल र बसिर अहमद टोलीमा फर्किएका छन् भने शेर मल्लले पनि एकदिवसीय टोलीमा स्थान बनाएका छन् ।
सन्दीपको नेतृत्वमा नेपालले मलेसियामा अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म हुने एसीसी प्रिमियर कप खेल्नेछ । एकदिवसीय ढाँचामा हुने यो प्रतियोगिता एसिया कप छनोटका रूपमा समेत महत्वपूर्ण छ ।
प्रिमियर कपका लागि घोषित १४ सदस्यीय टोलीमा सन्दीप लामिछाने कप्तान, आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।
टी–२० टोलीको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले सम्हालिरहेका छन् ।विश्वकप लिग–२ मा नेपालको पछिल्लो प्रदर्शन कमजोर रहेपछि क्यानले तत्काल प्रभाव पार्ने उद्देश्यले नेतृत्व परिवर्तन गरेको जनाएको छ । अब नयाँ कप्तान सन्दीप र नयाँ संयोजनको टोलीले मैदानमा कस्तो नतिजा निकाल्छ भन्ने नै नेपाली क्रिकेटको ठूलो परीक्षा बनेको छ ।






































