काँकडभिट्टा / चार दशकभन्दा बढी समयदेखि बिना सुनुवाइ भारतीय जेलमा राखिएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई जेलबाट छुटेको करिव १० महिनापछि कोलकाता उच्च अदालतले भारु ५ लाख क्षतिपूर्ति दिन आदेश गरेको छ । 

OM Sai Pathibhara Hospital
उच्च अदालतका न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई भारु ५ लाख तत्काल क्षतिपूर्तिबापत उपलब्ध गराउन पश्चिम बङ्गालको जेल प्रशासनलाई आदेश गरेको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले जानकारी दिए ।

 बुधबार अदालतले गरेको आदेशमा भनिएको छ, ‘यो क्षतिपूर्ति दिएका कारण अन्य हक अधिकारबाट कुण्ठित गरिने छैन ।’

४० वर्ष जेल बसेर छुटेका दुर्गाप्रसाद आइपुगे नेपाल
महावाणिज्यदूत पौडेलले यो आदेश सकारात्मक भएको जानकारी दिँदै यसले थप क्षतिपूर्तिको माग दाबी गर्न मार्गप्रशस्त गरेको बताए । 

जेलबाट रिहा गर्ने बेलामा अदालतले क्षतिपूर्तिको विषयलाई गम्भीरताका साथ उठान गर्दै बङ्गालको जेल प्रशासनका नाममा आदेश गरेको थियो । सोहीअनुरूप जेल प्रशासनले हालै ‘जीवन निर्वाहका लागि तत्काल ५ लाख दिन सकिन्छ’ भनी अदालतलाई जवाफ फर्काएको थियो ।

४० वर्षपछि दुर्गाप्रसादलाई भेट्दा आमा खुसी
वाणिज्य दूतावासका अनुसार क्षतिपूर्तिसहितको रकम ६ साताभित्र तिम्सिनाको खातामा जम्मा हुने छ ।
जसका लागि तिम्सिनाको नाममा खाता खोल्न परिवारसँग समन्वय भइरहेको पनि महावाणिज्यदूत पौडेलले जनाए ।

हत्या अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई गत वर्ष चैतसम्म पश्चिम बगालका विभिन्न जेलहरूमा राखिएको थियो । 

बिनासुनुवाइ जेलमा राखिएका तिम्सिनालाई कोलकाता उच्च अदालतले गत वर्ष रिहा गर्न आदेश दिएको थियो ।

बिनासुनुवाइ ४० वर्ष भारतीय जेलमा
गत चैतमा रिहा भएपछि इलामको लुम्बाकमा रहेको घरमा केही समय बसेका दुर्गाप्रसादको स्वास्थ्यमा थप समस्या भएपछि विराटनगरको मानव सेवा आश्रममा राखेर उपचार गरिराखिएको भाइ प्रकाश शर्माले जनाए ।