झापा / सरकारले १ नम्बर प्रदेशका ११ वटा स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

गत कात्तिक ३ गते गएको बाढीपहिरोका कारण सो क्षेत्रमा ठुलो जनधनको क्षति भएकाले ती स्थानीय तहलाई सरकारले बाढीपहिरो संकट क्षेत्र घोषणा गरेको हो । 

OM Sai Pathibhara Hospital

गृह मन्त्रालयका अनुसार संकटग्रस्त क्षेत्रमा पर्नेमा इलामको इलाम नगरपालिका, सूर्योदय नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका, देउमाई गाउँपालिका र सन्दकपुर गाउँपालिका रहेका छन् । 

त्यस्तै पाँचथरको फिदिम नगरपालिका, मिक्लाजुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र तुम्बेवा गाउँपालिका रहेका छन्  भने धनकुटाको चौबिसे गाउँपालिका रहेको छ । 

सरकारले प्रदेश १ का ११ स्थानीय तहसहित देशभरका ३३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

प्रदेश १ स्थित तीन जिल्लाका ११ स्थानीय तहसहित सुदूरपश्चिम स्थित छ जिल्लाका २० स्थानीय तह र लुम्बिनी प्रदेशको एक जिल्लाका दुई स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो । 

विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा हुनेमा डडेलधुराका नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र परशुराम गाउँपालिका रहेका छन् । 

बझाङका थलारा गाउँपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी गाउँपालिका रहेका छन् भने रूपन्देहीको बुटवल उपमहानगरपालिका र रोहिणी गाउँपालिका रहेका छन् । 

यसैगरी डोटीका दीपायल सिलगढी नगरपालिका, केआईसिंह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका रहेका छन् भने बाजुराका हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका, बैतडीका सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका र दार्चुलाका दुहुँ गाउँपालिका र अपि हिमाल गाउँपालिका रहेका छन् ।

सङ्कटग्रस्त क्षेत्र घोषणा हुनेमा एउटा उपमहानगरपालिका, चार नगरपालिका र २८ गाउँपालिका रहेका छन् । ती स्थानीय तहमा तीन महिनाका लागि सो घोषणा गरिएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । 

पोखरेलका अनुसार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरिएको हो  ।