नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालको आसन्न साधारणसभा मार्फत नेतृत्वमा दावी गरिरहेका सीजी होल्डीङ्स आवद्ध व्यवसायी करण चौधरी अवैध वित्तिय कारोबारमा संलग्न रहेको सार्वजनिक भएको छ । नाडाको नेतृत्वका लागि उम्मेद्वारी घोषणा गरेर नेतृत्वमा दावी गरिरहेका चौधरीले काठमाण्डौको त्रिपुरेश्वरमा कम्पनी नै खडा गरेर अवैध वित्तिय कारोबार गर्ने गरेको सार्वजनिक भएको हो ।
चौधरी परिवारको स्वामित्वमा रहेको केएमसी अटोमोबाइल्स मार्फत सवारी बिक्रीमा सर्वसाधारणलाई बैंक तथा वित्तिय संस्थाले जसरी ऋण प्रवाह गरेर अवैध बैंकिङ कारोबार गरी सर्वसाधारणलाई ठग्ने गरेको सार्वजनिक भएको हो । चौधरीको कम्पनी केएमसीले सर्वसाधारणबाट वित्तिय संस्थाले जसरी मिटर व्याज शैलीमा व्याज समेत असुल्ने गरेको छ ।
सुजुकी गाडी खरिद गर्ने सर्वसाधारणलाई गाडी बिक्री गर्ने क्रममा चौधरीको कम्पनीले व्याज असुल्ने गरेपनि राज्यलाई भने वार्षिक करोडौँ रुपैयाँ व्याज कर समेत छल्ने गरेको छ । वित्तिय संस्थाले गर्ने कारोबारमा व्याज कर लाग्ने कानुनी व्यवस्था रहेको छ भने वित्तिय कारोबारका लागि नेपालमा राष्ट्र वैंक र सहकारी विभागबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।