काठमाडौं
/ नेपालका १० मिडियाले कोभिड प्रभावित
उद्यमलाई दिइने सहुलियत व्याजको कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकले मिडियालाई कोभिड प्रभावित उद्यम
व्यवसायको
सुचीमा राखेपछि मिडियाले
सहुलियत व्याजको कर्जा लिएका हुन् ।
सहुलियत
व्याजको कर्जा लिनेमा श्रमजीवी पत्रकारलाई २ वर्षदेखि
तलब नदिएको आरोप लागेको नेपाल रिपब्लिक मिडिया प्रालि समेत रहेको छ । उक्त
मिडियाले २० करोड रुपैयाँ कर्जा लिएको छ । कोभिड –१९ बाट
प्रभावित उद्योग व्यवसायलाई ५ प्रतिशत व्याजमा दिइने पुनरकर्जा सुविधा
वापत नागरिक दैनिक र रिपब्लिका दैनिक सञ्चालन गरिरहेको नेपाल
रिपब्लिक मिडिया प्रालिले २० करोड रुपैयाँ प्राप्त गरेको हो ।
कोभिड प्रभावित
उद्यम व्यवसायले पाउने सुविधाबाट कर्मचारीको तबल तथा बक्यौता तिर्न र व्यवसाय
पुनरुत्थान गर्न खर्च गर्न पाइने नीतिगत व्यवस्था छ ।
नेपाल
रिपब्लिक मिडियामा आवद्ध पत्रकारले २ वर्षदेखि तलब नपाएको भन्दै अघिल्लो सातादेखि
केन्द्रीय कार्यालयमा धर्ना बसेका छन् । पत्रकारको सो धर्ना प्रति नेपाल
पत्रकार महासङ्घले ऐक्यवद्धता जनाएको छ
भने प्रेस काउन्सिलले पनि ध्यानाकर्षण भएको प्रतिक्रिया दिएको छ ।
नेपाल
समाचारपत्र
प्रकाशन गरिरहेको कामना न्युज
पब्लिकेसन प्रालिले ५ करोड ४२ लाख रुपैयाँ कर्जा लिएको छ ।
त्यसैगरी, कान्तिपुर
पब्लिकेसनले १९ करोड २९ लाख, कान्तिपुर टेलिभिजनले
१५ करोड, कान्तिपुर
एफएमले १ करोड ८८ लाख र जनता टेलिभिजन सञ्चालन गरिरहेको जनता प्रसारण तथा प्रकाशन लि.ले ६
करोड ६४ लाख रुपैयाँ सस्तो व्याजमा कर्जा लिएका छन् ।
राष्ट्र
बैंक स्रोतले दिएको जानकारी अनुसार राजधानी दैनिक सञ्चालन गरिरहेको राजधानी
न्युज पब्लिकेसनले १ करोड ९६ लाख, हिमालयन टेलिभिजनले
११ करोड १९ लाख र न्युज २४ टेलिभिजन सञ्चालन गरिरहेको नेपाल ब्रोडकास्टिङ च्यानल प्रालिले ६
करोड ३ लाख रुपैयाँ कोभिड महामारीको
कारण असर परेको भन्दै सस्तो व्याजमा कर्जा लिएका छन् ।