बिर्तामोड / नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य अनिल वाग्लेले जन्मदिनको अवसरमा बुधबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

झापा बुद्धशान्ति निवासी वाग्लेले महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम जम्मा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

बुधबारे जेसिज सन् २०२१ अध्यक्ष, प्रेस क्लब बुद्धशान्तिका अध्यक्ष, एभरेष्ट साबुन उद्योगका सञ्चालक, पूर्वेली साप्ताहिकका सम्पादक समेत रहेका वाग्ले डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा छन् ।

जन्मोत्सवको अवसरमा झापाली पत्रकारहरूको हितमा योगदान गर्न आफूले रकम प्रदान गरेको उनले बताएका छन् ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । कोषको व्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गर्दै आएको छ ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार वाग्लेले बताउँछन् ।

महासंघ झापा शाखाले संघ संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।