विराटनगर / गत वर्ष ९३ दशमलव ९५ प्रतिशत जमिनमा रोपाइँ भएको प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत जमिनमा रोपाइँ भएको  छ । चौध जिल्ला रहेको यस प्रदेशमा कूल ३  लाख ४० हजार ८सय २९ हेक्टर जग्गामा धान लगाउने गरिएकामा तीमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको कृषि निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिएकी छन् ।

यसवर्ष उच्च पहाडी क्षेत्र ताप्लेजुङमा आठ हजार ५सय ६२, सङ्खुवासभामा १३ हजार १सय ५८ र सोलुखुम्बुमा एक हजार ५सय २५ हेक्टर जग्गामा रोपाइँ भएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै मध्यपहाडी क्षेत्र पाँचथरमा आठ हजार २सय ८२, इलाममा ११ हजार ८सय ५२, भोजपुरमा १६ हजार १सय १, तेह्रथुममा आठ हजार ९सय ५४, धनकुटामा छ हजार ३सय ६०, उदयपुरमा १२ हजार ५सय ७७, ओखलढुङ्गामा चार हजार १सय ८२ र खोटाङमा १२ हजार ३सय ८२ हेक्टर जग्गामा रोपाइँ भएको छ भने तराईका तीन जिल्लामध्ये सुनसरीमा ५३ हजार ९००, मोरङमा ८१ हजार ६सय ३४ र झापामा ८३ हजार १सय २५ हेक्टर जग्गामा रोपाइँ  भएको छ ।

उच्च पहाडका तीन जिल्लामा २३ हजार २सय ४५, मध्यपहाडका आठ जिल्लामा ८० हजार ६सय ९२ र तराईका तीन जिल्लामा दुई लाख १८ हजार ६सय ५९ हेक्टर जग्गामा वर्षे धानबाली लगाइएको छ । तुलनात्मक रूपमा हेर्दा  उच्च पहाडमा ९६, मध्य पहाडमा ८८ दशमलव ७६ र तराईमा ९७ प्रतिशत जग्गामा रोपाइँ भएको प्रवक्ता श्रेष्ठले बताएकी छन् ।