विराटनगर / मोरङमा मृत अवस्थामा एक जना पुरूषको शव फेला परेको छ । मंगलबार दिउँसो कटहरी गाउँपालिका –४ एससीसी इँट्टा उद्योग अगाडि कटहरी –४ बस्ने ५५ वर्षीय रजन ऋषिदेवको मृत अवस्थामा शव भेटिएको हो ।
शरीरमा चोट लागेको अवस्थामा मृत अवस्थामा फेला परेका उनलाई मंगलबार करिब १२ बजेको समयमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
विराटनगर –रंगेली हुलाकी सडक खण्डदेखि करिब दुई सय मिटर उत्तरमा भेटिएको उनको शरीरमा चोटपटक लागेको कारणले स्थानीयले दुर्घटनामा परी ऋषिदेवको मृत्यु भएको आशंका गरेका छन् ।
खबर प्राप्त भएसँगै घटनास्थलमा मोरङ प्रहरीको मुद्दा फाटका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वको टोली पुगेर मुचुल्का उठाई शव पोस्टमार्टमका लागि विराटनगर स्थित कोशी अस्पताल लागिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।