काठमाडौँ
/ उपत्यकामा केहिदिन यता कोरोना सङ्क्रमितको दर उच्च भएसँगै जिल्ला प्रशासन
कार्यालय काठमाडौँले भीडभाडयुक्त गतिविधि नगर्न आग्रह गरेको छ ।
प्रशासनले आज एक सूचना जारी गर्दै कोरोनाको तेस्रो लहर देखापरेको अवस्थामा पनि सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्याली जस्ता गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीद्वारा जारी सूचनामा भीडभाडयुक्त गतिविधिले सङ्क्रमण दर अझै बढ्ने र भयावह अवस्था सिर्जना हुन सक्ने सम्भावना भएको भन्दै स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न आग्रह गरिएको छ ।
जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गरी भीडभाडयुक्त गतिविधि गरे/ गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारवाही हुने जारी सूचनामा उल्लेख भएको छ ।
पछिल्लो
समय सङ्क्रमण दर बढ्दै गएपछि अस्पतालहरूमा आइसीयु, भेन्टिलेटर जस्ता
आकस्मिक सेवामा शय्या भरिन थालेको भन्दै सबै पक्ष र समुदाय उत्तिकै जिम्मेवार
हुनुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।