बिर्तामोड / आफू निकटलाई होटलमा बोलाएर खोप दिने गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका जनस्वास्थ्य अधिकारी ओम खड्काका विषयमा छानविन गर्न स्थानीय प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति बनाएको छ ।

शुक्रबार बिर्तामोडको टाइमलेस होटलबाट १०३ भायल खोप सहित पक्राउ परेका खड्कामाथि कारवाहीका लागि चौतर्फी दवाव बढेपछि जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले सो विषयमा छानविन गर्न समिति बनाएको हो ।

सदरमुकाम चन्द्रगढीमा आज बसेको आकस्मिक बैठकले झापाका सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिमा जिल्ला समन्वय समितिका लालबहादुर श्रेष्ठ, प्रहरी नायब उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक प्रेम प्रसाईं र राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् । बैठकले छानविन समितिलाई ७ दिनको समय दिएको छ ।


खोप बरामद प्रकरणका कारण जिल्लाभर जारी खोप कार्यक्रम नै प्रभावित हुने अवस्था सृजना भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा आकस्मिक बैठक बसेको थियो ।

खोप बरामद प्रकरणका विषयमा जिल्ला र नगरका नै स्वास्थ्य अधिकारीबीच विवाद हुने गरी भनाइहरू सार्वजनिक भएपछि राजनीतिक दल र सामाजिक संघ/संस्था आन्दोलित बनेका थिए ।

आफू निकटलाई होटलमा बोलाएर खोप दिने तयारीमा रहेका खड्कालाई नियन्त्रणमा लिन सफल सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका विद्यार्थीले उनीमाथि कारवाहीको माग गर्दै बिर्तामोड नगरपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।


मेचीमा औषधि र औषधि जन्य सामाग्रीका ठूला बिक्रेता समेत भनेर चिनिएका खड्का पटकपटक बेथिति र भ्रष्टाचारका विषयमा जोडिदै आएका थिए । स्थानीय सरकारलाई औषधि जन्य सामाग्री बिक्री र नगर अस्पतालमा फार्मेसी सञ्चालनमा समेत उनको मिलेमतो रहेको आरोप लाग्दै आएको छ ।

विवादास्पद छविका खड्कालाई जोगाउन उनीसँग मिलेर काम गर्दै आएका जनप्रतिनिधि र स्वास्थ्य अधिकारीले कोसिस गरेको भन्दै नागरिक स्तरबाट विरोध सुरु भएपछि जिल्ला प्रशासन कार्यालयले फरक पृष्ठभूमिका अधिकारी रहेको छानविन समिति बनाएको हो ।