बिर्तामोड  / कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई दिने गरेको सार्वजनिक भइरहेको समयमा बिर्तामोडको एक होटलमा लुकाएर राखिएको खोप र स्वास्थ्य प्रमुखलाई सत्तारूढ दलका नेता / कार्यकर्ताकाे एक समूहले रंगेहात समातेको छ ।

बिर्तामोड –१ स्थित होटल टायम लेसबाट लुकाइराखेको १०० भायल खोप सहित पटक – पटक विवाद अनि आलोचनामा पर्दै आएका बिर्तामोड नगरपालिकाका जनस्वास्थ्य प्रमुख ओम खड्कालाई  सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता / कार्यकर्ताकाे एक समूहले रंगेहात समातेका हुन् । बरामद खाेप प्रतिभायल दुई डाेज रहेकाे छ । 

OM Sai Pathibhara Hospital

विगत केही दिनयता बिर्तामोड नगरपालिकाका स्वास्थ्य प्रमुख ओम खड्काले सो होटलमा निकटस्थ बोलाएर खोप लगाउने गरेको सूचना पाएर पुगेका माओवादी केन्द्रका कार्यकर्ताले आज अपरान्ह ४ बजे खोप सहित खड्कालाई नियन्त्रणमा लिएका हुन् । होटेलको दराजमा लुकाएर राखिएको अवस्थामा खोप फेला परेपछि खड्काले सिलबन्दी कार्टुन फोडेर खोप अन्यन्त्रै लुकाएका थिए ।

खोप लुकाइएपछि माओवादी कार्यकर्ता खड्का र होटल कर्मचारीमाथि जाइलागेका थिए । सो क्रममा होटेलको प्रतीक्षालय कक्षमा रहेको टेबलमा खोप लुकाइएको पाइएको थियो ।

खड्काले भने आफू होटेलमा नै क्वारेन्टाईनमा रहेकाले खोप ल्याइएको दावी गरेका छन् । तर होटलको अभिलेखमा भने खड्का आज मात्रै इन्ट्री भएको पाइएको छ । होटल अभिलेखमा खड्का खोप कार्यक्रम सुरु भएयता केही दिनको फरकमा होटलमा बस्ने गरेको देखिन्छ ।

औषधि जन्य सामाग्रीका बिक्रेता समेत रहेका खड्कामाथि कोरोना संक्रमण सुरू भएयता आफ्नै फर्मका लाखौं मूल्यका सामाग्री नियमविपरीत खरिद गराएको समेत आरोप लागेको छ । नगरपालिकाको स्वामित्वमा अस्पतालमा सञ्चालनमा रहेको फार्मेसी समेत नियम मिचेर आफू निकटलाई दिएको आरोप समेत उनीमाथि लाग्दै आएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले प्रहरीले खोप बरामद गरिसकेको र सो विषयमा छानविन थालिएको बताएका छन् । 

 पक्राउ परेका खड्कालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।