बिर्तामोड / आफू निकटलाई खोप लगाउने तयारी गरिरहेको समयमा बिर्तामोडको होटल टाइमलेसबाट नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का खोप सहित पक्राउ परेपछि उनीमाथि कारवाहीको माग गर्दै सत्तारुढ दलकै विद्यार्थीले नगरपालिका कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।



सत्तारुढ दल सम्वद्ध नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीले खड्कामाथि कारवाहीको माग गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । नगरपालिका पुगेका विद्यार्थी सङ्गठनका कार्यकर्ताले खोपमा चरम लापरवाही र कालोबजारी भएको भन्दै उनीमाथि कारवाही नभएसम्म तालाबन्दी नखोल्ने बताएका छन् ।


कारबाही प्रक्रिया अघि नबढेसम्म ताला नखोलिने नेपाल विद्यार्थी संघ झापाका सचिव पोषराज कटुवालले बताएका छन्।

त्यसैगरी अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले खोपमा चरम अनियमितता भएको हेरेर बस्न नसक्ने भएकाले नगरपालिकामा तालाबन्दी गरिएको बताएका छन् ।

विवादास्पद छविका खड्का यसअघि पनि पटक–पटक अनियमितताका घटनामा मुछिदै आएका छन् । आफै औषधिजन्य सामाग्रीका ठूला कारोबारी समेत भएको भनेर चिनिएका उनीमाथि प्रति व्यक्ति १० हजार सम्म लिएर खोप लगाइदिने गरेको आरोप समेत लागेको छ । खड्का फार्मेसी ठेक्का र नगरलाई आवश्यक स्वास्थ्य सामाग्री खरिदका विषयमा समेत जोडिएका विवादीत व्यक्ति हुन् ।

होटलमा खोप लुकाउन खोज्दा खोज्दै उनलाई सत्तारुढ दलका कार्यकर्ताले शुक्रबार दिउँसो उनलाई १ सय ३ भायल खोप सहित रंगेहात पक्राउ गरेका थिए ।