विराटनगर /  कोरोना संक्रमणका कारण आईसोलेसनमा बसेका मोरंगका पत्रकारलाई नि : शुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । क्युरा हेल्थले बिशेषज्ञ चिकित्सक मार्फत स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) नि : शुल्क उपलब्ध गराउने भएको हो ।

महामारीको समयमा अस्पताल वा क्लिनिक जाँदा सरुवा रोग कोभिड लगायतका संक्रमणहरु सर्ने सम्भावना हुँदा टेलिमेडिसिन सेवा मार्फत सेवा लिन सकिने जनाइएको छ । सामान्य लक्षण भएका संक्रमित पत्रकारहरुलाई अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था आइनपरोस भनेर क्यूराहेल्थले यस्तो सुविधा नि : शुल्क दिन लागेको क्यूरा हेल्थकी प्रबन्ध निर्देशक जयश्री जाजुले बताए । कोरोना संक्रमण पछि उत्पन्न हुनसक्ने डर, त्रास र संक्रमितको मनोअवस्थालाई दृष्टिगत गरी आवश्यक मनोसामाजिक परामर्श समेत उपलब्ध गराइने उनले बताए । 

OM Sai Pathibhara Hospital

टेलिमेडिसिन सेवा प्राप्त गर्न क्यूरा हेल्थको  मोबाइल एप्लिकेशन डाउनलोड गर्नुपर्ने जाजुले बताए । उनले भने, ‘एपमा देखाइए अनुसार कोभिड–१९ खण्डमा गई सूचिकृत भएका चिकित्सकहरु सँग एपोइटमेन्ट लिनुपर्छ र चिकित्सकहरुबाट  सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।’

यसैबीच क्यूरा हेल्थ सँगको सहकार्यमा नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) विराटनगर शाखा र पत्रकार महासंघ मोरङ शाखाले प्लाज्मा दान गर्न चाहने र प्लाज्मा आवश्यक भएका व्यक्तिहरुलाई सम्पर्क गराउन छुट्टै वेभ लिंक संचालनमा ल्याएको छ । 

एनवाईइएफ विराटनगर अध्यक्ष युनेशराज श्रेष्ठले कोरोना महामारीका कारण अहिलेको अवस्थामा सबैजना मानिसहरु त्रसित बनेको र प्लाज्मा दान गर्न चाहने व्यक्तिहरु पनि अन्यौलमा परिरहेको बताए । उनले प्लाज्मा दान गर्न चाहने व्यक्तिहरुले सो वेवसाइटमार्फत आफ्नो विवरण संलग्न गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।

पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालले यस्तो व्यवस्थाले विवरण उल्लेख गरेपछि प्लाज्मा आवश्यक पर्ने व्यक्तिहरुले सम्पर्क गर्न सक्ने र संक्रमणको बेला प्लाज्मा दान गर्ने व्यक्तिहरुको विवरण थाहा पाउन सहज हुने बताए । अध्यक्ष खनालले अस्पतालहरुमा उपचाररत संक्रमितहरुका लागि सामाजिक सञ्जालहरुमा प्लाज्मा आवश्यक भएको सूचनाहरु धेरै आउन थालेकोले प्लाज्मा दिन इच्छुकहरुलाई आफ्नो विवरण उल्लेख गरिदिन पनि आग्रह गरे ।  

क्यूरा हेल्थकी प्रबन्ध निर्देशक  जाजुले  भने, ‘प्लाज्माका बारेमा सामाजिक सञ्जालहरुमा धेरै सूचना तथा जानकारीहरु देखिरहेका छौं, प्लाज्मा दान गर्न इच्छुक व्यक्तिहरु अगाडि आइदिनु होला, दानले कसैको ज्यान बच्न सक्दछ’ उनले भनिन्, ‘यी सवै कुरालाई हेरेर हामीले प्लाज्मा दानकर्ताहरुलाई हाम्रो वेवसाइटमा गएर हेरेर आफ्नो जानकारी तथा विवरणहरु भरिदिन हुन अनुरोध गरेका छौं ।’