काठमाडौं । प्रसूति उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योत्सना शर्मा तिवारीको चिकित्सकीय लापरबाही पुष्टि गरेको छ। अदालतले अस्पताललाई ३० लाख र चिकित्सकलाई ९ लाख रुपैयाँ गरी पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो।
अदालतका अनुसार सिभियर प्रि–एक्लेम्प्सिया भएकी बिरामीलाई सिजेरियन शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट समयमै नदिइनु उपचार प्रक्रियाको गम्भीर त्रुटि थियो। शल्यक्रियापछि मात्र औषधि दिइएकाले बिरामीको अवस्था थप जटिल बनेको अदालतले ठहर गरेको छ।
मनिता शर्मा २५ मंसिर २०८१ मा एभरेस्ट अस्पतालमा भर्ना भएकी थिइन्। सिजेरियनमार्फत शिशुको जन्म भए पनि त्यसपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि ह्याम्स अस्पताल रेफर गरिएको थियो। भेन्टिलेटरमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
मृतकका श्रीमान् सुवास पराजुलीले चिकित्सकीय लापरबाही भएको दाबी गर्दै उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए। अदालतले अस्पतालको संस्थागत जिम्मेवारी र उपचारमा संलग्न चिकित्सकको व्यक्तिगत जिम्मेवारी दुवै रहेको ठहर गर्दै दुवै पक्षलाई क्षतिपूर्ति तिर्न आदेश दिएको हो।
प्रतिवादी अस्पताल र चिकित्सकले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गरेका थिए। तर अदालतले उपलब्ध प्रमाण र उपचार प्रक्रियाको मूल्यांकनपछि उनीहरूको दाबी अस्वीकार गर्दै पीडित परिवारको पक्षमा फैसला सुनाएको छ।






































