जनकपुर।जनकपुरधाम पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका सांसद आरेन आर्यन राईको विगतको विवादित अभिव्यक्तिबारे पहिलोपटक खुलेर बचाउ गरेका छन्।जानकी मन्दिर प्रवेशका क्रममा केही युवाले विरोध जनाएपछि आयोजित पार्टी प्रवेश कार्यक्रममा साम्पाङले राईको प्रसंग उठाउँदै विगतका गल्तीका आधारमा कसैलाई जीवनभर दोषी ठहर गर्न नहुने बताए।
उनले राई पहिले अर्को राजनीतिक समूहमा रहेकाले त्यही वातावरण र सोचअनुसार विवादित अभिव्यक्ति दिएको हुन सक्ने उल्लेख गर्दै अहिले परिस्थिति बदलिएको दाबी गरे। साम्पाङका अनुसार राईले आफ्नो गल्ती स्वीकार गर्दै संसदमै सार्वजनिक रूपमा माफी मागिसकेकाले अब उनलाई सुध्रिने अवसर दिनु नै नेपाली समाजको परिपक्वता हुनेछ।
साम्पाङले मानिसको व्यवहार संगत र वातावरणले बदलिन्छूभन्दै अहिले राई श्रम संस्कृति पार्टीको विचार र अनुशासनमा काम गरिरहेको बताए। पुराना विवादलाई आधार बनाएर पार्टीमाथि नै प्रश्न उठाउनु उचित नहुने उनको भनाइ थियो।
साम्पाङले सबैलाई विगतभन्दा वर्तमान काम र व्यवहारका आधारमा मूल्यांकन गर्न आग्रह गर्दै, आरेन राईको पुरानो अभिव्यक्तिलाई अनावश्यक रूपमा राजनीतिक मुद्दा नबनाउन अपिल गरेका छन्।






































