जनकपुरधाम। जनकपुरधामबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशलाई आफ्नो पार्टीको भावी राजनीतिक केन्द्रका रूपमा घोषणा गर्दै सशक्त सन्देश दिएका छन्। मधेशमा बलियो पार्टी निर्माण गर्न नसकिए देश र समग्र कम्युनिस्ट आन्दोलनले ठूलो राजनीतिक दुर्घटना भोग्नुपर्ने चेतावनी दिँदै उनले संगठन विस्तारलाई अब सबैभन्दा ठूलो प्राथमिकता बनाइने बताएका हुन्। 

मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा एकता भेलालाई सम्बोधन गर्दै प्रचण्डले मधेशको राजनीतिक महत्व असाधारण रहेको उल्लेख गरे। जनसंख्या, विकास र राजनीतिक प्रभावका दृष्टिले मधेश निर्णायक प्रदेश भएकाले यहीँबाट शक्तिशाली राजनीतिक आधार तयार गर्नुपर्ने उनको भनाइ थियो।

उनले स्पष्ट शब्दमा भने, ‘मधेशमा पार्टी बलियो बनाउन सक्यौँ भने मधेश आन्दोलन र पार्टी दुवैलाई नयाँ उचाइमा पुर्‍याउन सक्छौँ। तर मधेशमै कमजोर भयौँ भने देशले पनि र कम्युनिस्ट आन्दोलनले पनि ठूलो दुर्घटना बेहोर्न सक्छ।’

प्रचण्डले अब मधेशमा संगठन विस्तार, जनसम्पर्क अभियान र कार्यकर्ता परिचालनलाई तीव्र बनाइने घोषणा गर्दै नेताकार्यकर्तालाई गाउँ–गाउँसम्म पुगेर पार्टीलाई जनतासँग जोड्न निर्देशन दिए। विभिन्न चरणमा कार्यकर्ताबाट आएका सुझावलाई समेटेर पार्टीलाई थप सशक्त बनाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

जनकपुरबाट आएको यो अभिव्यक्तिलाई आगामी राजनीतिक समीकरण र मधेश केन्द्रित रणनीतिको संकेतका रूपमा समेत हेरिएको छ।