जनकपुर । देशको राजनीतिक समीकरण फेरिने संकेतबीच नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरूबीच नयाँ सहकार्यको प्रक्रिया अघि बढेको खुलासा गरेका छन्। उनले नेकपा र एमालेबीच सहकार्यको वातावरण बनेको भन्दै प्रदेश सरकारको सत्ता समीकरणबारे कांग्रेससँग पनि समानान्तर संवाद भइरहेको जानकारी दिएका छन्। प्रचण्डले वाम शक्तिहरु एक हुनुको विकल्प नभएको जिकिर गरेका छन् । 

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले वाम एकताको बहस अब केवल चर्चामा सीमित नरहेको, औपचारिक प्रक्रियामै प्रवेश गरिसकेको दाबी गरे। यद्यपि, तीन दलबीचको अन्तिम समझदारी भने अझै टुंगोमा नपुगेको उनले स्पष्ट पारे।

उनले प्रदेश सरकारहरूको नयाँ सत्ता समीकरणबारे कांग्रेससँग समेत छलफल जारी रहेको उल्लेख गर्दै आगामी दिनमा राजनीतिक ध्रुवीकरण थप तीव्र हुन सक्ने संकेत दिए।

मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले पार्टी संगठन सुदृढीकरण र कार्यकर्ता प्रशिक्षणलाई अब प्राथमिकतामा राखिने बताए। बुधबार हुने प्रशिक्षण कार्यक्रममा प्रचण्डसँगै सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।