काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएपछि होल्डिङ सेन्टरमा बस्दै आएका २९ सुकुमबासी परिवारलाई सरकारले अब गृहजिल्लामै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ।

भूमि समस्या समाधान समितिले डिजिटल अभिलेख र भूमि व्यवस्थापन तथा अभिलेख विभागको जाँचका आधारमा ती परिवारको नाममा देशभर कतै पनि घरजग्गा नरहेको पुष्टि भएपछि सम्बन्धित जिल्ला समितिमा जग्गा व्यवस्थापनका लागि सिफारिस पठाएको जनाएको छ।

समितिले होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो स्थायी ठेगाना रहेको जिल्ला समिति वा स्थानीय तहमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ। हाल उनीहरू बनेपा, कीर्तिपुर, नगरकोट र बोडेका विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्।

सरकारको यो कदमसँगै लामो समयदेखि अस्थायी आश्रयमा रहेका सुकुमबासीलाई गृहजिल्लामै स्थायी व्यवस्थापन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।